सांसद अरुण चौधरी बाँकेबाट पक्राउ



काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

कैलाली-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए। कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो। ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए। उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए।

सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Tags :

प्रकाशित: १९ माघ २०७९, बिहीबार १५:४०