काठमाडौं। बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो।
क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए।
छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन्। र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन्।
बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ। ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि थिए।
प्रकाशित: १९ माघ २०७९, बिहीबार १७:५६