माओवादी निष्कर्ष : गृह मन्त्रालयका बिषयमा रास्वापाले धैर्य गर्नुपर्छ



काठमाडौं। नेकपा माओवादी केन्द्रले गृहमन्त्रालयलाई लिएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले यस्तो बताएका हुन्।

रास्वपाले गृहमन्त्रीमा निरन्तर दाबी गरिरहेका बेला माओवादीले गत शुक्रबार रवि लामिछानेबारे सर्वोच्च अदालतले दिएको नागरिकता विवादबारेको मुद्दाको फैसलाको पूरापाठ नआएन्जेल उसले धैर्य गर्नुपर्ने निष्कर्ष निकालिएको हो।

‘रास्वपा सभापति लामिछानेको मुद्दाको पूर्णपाठ आएको छैन। यो मुद्दा अझै सिद्धिएको पनि छैन’, महराले भने, ‘यस्तोमा मन्त्रिमण्डलमा के गर्ने भन्ने विषयबारे केही टुंगो भएको छैन।’

महराले पूर्णपाठ नआउन्जेल मन्त्री थपघटको विषय पनि स्थगित हुने संकेत गरे। ‘सर्वोच्चको फैसालको पूर्णपाठ नआउन्जेल कुनै तलमाथि हुँदैन’, उनले भने, ‘त्यतिका समयसम्म रास्वपाले धैर्य गर्न सक्नुपर्छ।’

फरक प्रसंगमा महराले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह रास्वपालाई नै दिनुपर्छ भनेको कुराले गठबन्धनमा फरक नपर्ने बताए।

‘केपी शर्मा ओलीको भनाइले सत्ता साझेदार दलहरुबीचमा कुनै समस्या ल्याउँदैन’, उनले भने, ‘हामीबीच छलफल भइरहेको छ। त्यसैले यसलाई ठूलो बनाउनु जरुरी छैन।’

Tags :

प्रकाशित: १९ माघ २०७९, बिहीबार १८:०६