काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने कि नछोड्ने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ।
सो पार्टीको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले
तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको हो।
बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिन पर्खन आग्रह गरेको जानकारी दिए।
‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर समय माग्नु भएको छ’ ढकालले भने,’त्यसैले हामीले अहिले उहाँहरुले गर्नुहुन्छ हेर्छौं। २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं।’
गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई पार्टीका बहुमत सांसद र केन्द्रीय सदस्यले स्वीकारेनन्।
तत्काल सरकारबाट बाहिरिँदा नराम्रो सन्देश जाने भन्दै अधिकांश नेताहरुले उच्चस्तरिय संयन्त्रमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने सुझाब दिएका थिए।
प्रकाशित: १९ माघ २०७९, बिहीबार २०:५४