वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहेको ठहर गर्दै दुई जना प्रदेश सांसदसहित ४९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३(१) बाट निर्वाचित सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का सांसद श्याम खड्कासहितलाई वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो।
सांसद जयसवाल स्वतन्त्रबाट जितेका हुन् भने खड्का नेपाली कांग्रेसका हुन् । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवालविरुद्ध पनि मुद्दा परेको छ । उनी जनता समाजवादी पार्टीमा आबद्ध छन्।
सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय मागदाबी गरिएको छ। दुवै सांसद र गाउँपालिकाका पूर्व अध्यक्षलाई मतियारका रुपमा मुद्दा दायर गरिएको हो । मतियारलाई तोकेको भन्दा आधा सजायको व्यवस्था छ। तर सांसद खड्काविरुद्ध दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको भन्दै निकुञ्जले हातहतियार खरखजाना ऐन बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र समेत लेखेको छ ।
अभियुक्त मध्ये १५ जना पक्राउ परेका छन् भने ३४ जना फरार सूचीमा छन् । दुवै सांसद र गाउँपालिकाका पूर्व अध्यक्षलाई पनि पक्राउ गरिएको छैन ।
गत पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रमा वन्यजन्तुको शिकार गर्दै गरेको अवस्थामा नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । शिकारीले जरायो मारेका थिए । अनुसन्धानका क्रममा अन्यको पनि संलग्नता खुलेको हो ।
प्रकाशित: २० माघ २०७९, शुक्रबार १३:२६