बलि दिन भारत पुर्‍याइएकी नाबालिगको उद्धार



काठमाडौं। बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली नाबालिगको उद्धार गरिएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको सक्रियतामा उद्धार गरिएको हो।

मंगलबार भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट बलि दिन भारत पुर्‍याइएकी नाबालिगको उद्धार गरिएको काठमाडौंमा पत्रकार सम्मेलन गरी ब्युरोले जानकारी दिएको हो।

उद्धारपछि बालिकालाई सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको ब्युरो निर्देशक प्रहरी उपनिरीक्षक जीवनकुमार श्रेष्ठले बताए। उनले भने, ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भए अथाह पैसा पाउने भनिएको रहेछ। भारत लग्नुअघि बालिकाको तौल, उचाइ, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ।’

उनका अनुसार बालिकालाई भारत लग्नुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो। ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तले जानकारी दिएको ब्युरो निर्देशक श्रेष्ठले बताए।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ। उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ।’

यसबारे जानकार नभएको उनको भनाइ छ। ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं। दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।’

पीडित बालिका १७ मंसिरमा मामाघरबाट काठमाडौं ल्याइएको थियो। १९ पुससम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो। २० पुसमा बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ।

भारत पु¥याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो। आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन्। ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ।

अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले दिए। प्रहरीको तथ्यांकअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघमा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ। पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ। बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी ४४३ जनाको उद्धार गरिएको छ।

Tags :

प्रकाशित: २० माघ २०७९, शुक्रबार १६:११