राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन



काठमाडौं। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको परिवार स्रोतले जनाएको छ।

उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन्। उनी हिमालयन बैंकका संस्थापकसमेत हुन्।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए।

उनी गभर्नर भएसँगै नेपालबाट भारुको चलन विस्थापित गर्न सफल भएका थिए। उनको पालामा निर्धारण गरिएको भारुको विनिमय दर भारु १०० को १६० रुपैयाँ अहिले पनि कायम छ।

उनले जागिरबाट अवकाश लिएपछि व्यवसायमा हात हालेका थिए। गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग, काल्सवर्ग वियर उनैले नेपाल भित्र्याएका थिए। पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक खोलेका थिए। बैंकसँगै हिमालयन डिस्टिलरी पनि उनैले स्थापना गरेका थिए।

नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) १४ वैशाख २०१३ मा स्थापना भएको हो । राष्ट्र बैंकको पहिलो गभर्नर जबरा थिए।
गभर्नरको कार्य अवधि पाँच वर्षको थियो ।

तर, उनले ४ वर्ष ८ महिना मात्र काम गरे । १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि उनको जागिर पनि खोसियो र २५ माघ २०१७ मा गभर्नरबाट बाहिरिए ।

बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने गरेको र त्यो कुरा दरबारलाई थाहा भएको हुँदा उनको गभर्नर पद खोसिएको थियो । यस्तै, उनले राष्ट्र बैंक स्थापना गर्ने क्रममा ९ महिना जति गृहकार्य (प्रिपरेसन वर्क) पनि गरेका थिए ।

००७ सालको परिवर्तनपछि बनेको संयुक्त सरकारले अर्थशास्त्रमा मास्टर्स गरेका हिमालय जबरालाई अर्थसचिवमा नियुक्त गरेको थियो । त्योवेला अर्थमन्त्री सुवर्ण शमशेर थिए । पछि राष्ट्र बैंक खुलेपछि पहिलो गभर्नर बनेर नोटमा पहिलो हस्ताक्षर गर्ने मौका पाए।

उमेर ९५ वर्ष पुगिसक्दा पनि उनी उत्तिकै सक्रिय थिए।

 

Tags :

प्रकाशित: २२ माघ २०७९, आईतवार ०९:१८