रास्वपाको बैठक आज पनि बस्दै, सरकारबारे के होला निर्णय?



काठमाडौं। गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्दै छ।

शनिबार राति बसेको बैठक निष्कर्षविहीन भएपछि रास्वपाले आज पनि बैठकलाई निरन्तरता दिने भएको हो।

बैठक बिहान ११ बजे बस्नेछ। बैठकले गृह मन्त्रालय नपाए सरकारमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको भनाइ छ।

गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर २ दिनको समय मागेको बताएका थिए।

तर त्यो २ दिनको अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ। शनिबार साँझ प्रधानमन्त्री प्रचण्डले रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्।

अब आजको बैठकबाट रास्वपाले के निर्णय गर्छ, प्रतीक्षाको विषय बनेको छ।

नागरिकता मुद्दाका कारण गृहमन्त्री पदबाट हट्न बाध्य रास्वपा सभापति रवि लामिछानेले प्रक्रिया पूरा गरी नेपाली नागरिकता लिएपछि त्यही पदमा दोहोरिन चाहेका छन्।

तर प्रधानमन्त्री प्रचण्ड नागरिकता मुद्दामा सर्वाेच्च अदालतबाट फैसलाको पूर्णपाठ आउन बाँकी तथा राहदानी विवाद पनि कायमै रहेकाले रविलाई दोहोर्‍याउने मनसायमा छैनन्। सत्ता साझेदार नेकपा एमालेले भने रविलाई नै गृह मन्त्रालय दिन दबाब दिइरहेको छ।

Tags :

प्रकाशित: २२ माघ २०७९, आईतवार ०९:२८