काठमाडौं। चितवन-२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुगेका छन्।
निवेदन बुझाएर आयोगबाट बाहिरिँदै श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई सपष्ट पार्ने बताए। यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित भएका थिए। कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए।
पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए । तर लामिछाने नागरिकता सम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए।
यता लामिछानेको रास्वपाले भने तत्काल सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो।
प्रकाशित: २२ माघ २०७९, आईतवार १३:२९