काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी लगायतका मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय टंक बहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासमा परेको छ। आइतबार पेसी सूचीको १० नम्बरमा चौधरी लगायतका मुद्दा राखिएको छ।
हालसम्म ४ पटक पेसीमा चढेको चौधरीको मुद्दा दुई पटक हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो। एक साताअघि पेसीमा चढे पनि अदालतबाटै स्थगित भएको थियो।
आइतबार पेसी सूचीमा परेको मुद्दा १० औँ नम्बरमा रहेको छ। रेशमलाल चौधरी बाहेक अन्य ९ थान मुद्दा पनि लगाउमा राखी सुनुवाइ गर्न लागिएको छ।
२०७७ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच भएको झडप र आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो। उक्त नरसंहारमा रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतलाई दोषी मानिएको थियो।
कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट दोषी ठहर भएका रेशमलाल चौधरी घटनामा आफ्नो संलग्नता नरहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए।
उच्च अदालतले पनि कैलाली जिल्ला अदालतकै फैसला सदर गर्दै पूर्व सांसद समेत रहेका चौधरीलाई दोषी ठहर गरिएको थियो। त्यसपछि चौधरी २०७७ फागुन १२ गते उच्च अदालतको फैसलाविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।
कैलालीबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचितसमेत भएका चौधरी निलम्बनकै अवस्थामा रहँदा उनको पदावधि सकिएको थियो। उच्च अदालतको फैसला अनुसार हाल कारागार कार्यालय डिल्लीबजारमा जेल सजाय भुक्तान गरिरहेका चौधरीकै पहलमा नागरिक उन्मुक्ति पार्टीसमेत गठन गरिएको छ। रेशम चौधरी पत्नी रञ्जित श्रेष्ठ चौधरी उक्त पार्टीको अध्यक्ष छिन्।
प्रकाशित: २२ माघ २०७९, आईतवार १४:२९