स्वतन्त्र पार्टीका तीन मन्त्रीले बुझाए राजीनामा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले राजीनामा दिएका छन्।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन्।

रास्वपाको आज बसेको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

सभापति रवि लामिछानेको नागरिकता प्रकरणपछि उपप्रधानसहित गृह मन्त्रालय गुमाएको रास्वपाले आफ्नो अडान कायम राखेको थियो।

प्रधानमन्त्री प्रचण्डले भने रास्वपालाई गृह मन्त्रालय नदिने र भौति पूर्वाधार तथा यातायात मन्त्रालय प्रस्ताव गरेका थिए। रास्वपाले उक्त प्रस्ताव स्वीकार नगरेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पार्टीको निर्णयबमोजिम मन्त्रीहरुले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष लामिछानेसँग कुरा गरेर सहमति गर्ने बताएका छन्।

लामिछानेले रोजेको मन्त्रालयको पुन: नेतृत्व गर्न नपाएपछि रास्वापाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ।

नागरिकताको विषयमा सर्वोच्च अदालतले रवि लामिछानेको विपक्षमा फैसला गरेपछि उनको सांसद, मन्त्री तथा पार्टी सभापति पद एकैपटक गएको थियो।

Tags :

प्रकाशित: २२ माघ २०७९, आईतवार २०:१०