यो महिनाको अन्त्यमा युक्रेनमा भीषण हमला गर्ने रुसको तयारी



एजेन्सी। रुसले यो महिनाको अन्त्यमा युक्रेनमा भीषण हमलाको तयारी गरेको छ । युक्रेनमा आक्रमण थालेको एक वर्ष पुगेको मौका पारेर रुसले चारैतिरबाट भीषण आक्रमणको तयारी गरिरहेको युक्रेनी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

गएको वर्ष फेब्रुवरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको रुसले अपेक्षित सफलता हात पार्न सकेको छैन । उसले केहि समय गरेको शक्ति सञ्चय अब उपयोग गर्ने सम्भावना रहेको खबरमा उल्लेख छ । युक्रेनका निवर्तमान रक्षामन्त्रीले देशले यस महिनाको अन्त्यतिर ठूलो रुसी आक्रमणको सामना गर्नेपर्ने अवस्था रहेको बताएका छन्।

एक पत्रकार सम्मेलनमा निवर्तमान रक्षामन्त्री ओलेक्सी रेज्निकोभले रुसले आक्रमणको तयारी तिव्र बनाएको तर पश्चिमा देशहरुले वाचा गरेका हतियारहरू आउन ढिलाई हुँदा समस्या पर्ने सक्ने बताएका छन्।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रक्षामन्त्रीबाट ओलेक्सीलाई हटाएर सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभलाई नियुक्त गरेका छन् । रक्षा मन्त्रालयमा भ्रष्टाचार काण्डको शृंखलाको बीचमा यो परिवर्तन आएको हो। उनले आफ्नो सरकारभर भ्रष्टाचार विरोधी अभियानको एक हिस्साको रूपमा धेरै वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।

राष्ट्रपति जेलेन्स्कीले पनि पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिमानमा सेनाहरू भीषण लडाइँ भइरहेको बताएका छन् । जेलेन्स्कीले रुसको बढ्दो उग्रतासँग जुध्न र पराजित गर्नको लागि युरोप र अमेरिकी देशले चाँडो भन्दा चाँडो हतियार सहयोग गर्नुपर्ने पनि बताएका छन्।

Tags :

प्रकाशित: २३ माघ २०७९, सोमबार ०८:०३