भारतीय स्थल सेनाध्यक्ष पाण्डेसहित ११ पूर्वप्रमुख नेपाल आउँदै



काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन्। नेपाली सेनाको विशेष निमन्त्रणामा स्थल सेनाध्यक्ष पाण्डे फागुन पहिलो साता आउन लागेका हुन्।

नेपाली सेनाले भारतीय सेनाका पूर्व प्रमुखलाई पनि आफ्नो २६० औं स्थापना दिवसको अवसरमा निमन्त्रणा गरेको छ। भारतीय स्थल सेनाका ११ जना पूर्व प्रमुखलाई निमन्त्रणा गरिएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।

पूर्वप्रमुखहरु विश्वनाथ शर्मा, शंकर रोय चौधरी, वेदप्रकाश मल्लिक, सुन्दराराजन पद्मनभन, निर्मलचन्दर बिज, जोगिन्द्र जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोज मुकुन्द नरवानेलाई सेनाले निमन्त्रणा गरेको छ।

उनीहरु ५ गते आउने र ८ गते फर्किने सेनाले जनाएको छ।

‘हामीले हाल भारतमा रहेका स्थल सेनाका बहालवाला र पूर्वप्रमुखहरुलाई निमन्त्रणा गरेका छौं। आशा छ, सबै उपस्थित हुनुहुनेछ। केही दिनमा को को उपस्थित हुनुहुन्छ भन्ने निश्चित हुन्छ,’ प्रवक्ता भण्डारीले भने।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो। यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ।

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए। नेपाली सेनाले त्यतिबेला उनलाई मानार्थ महारथीको सम्मान दिएको थियो।

नेपाली सेनाका ५ वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ। १८१९ मा पृथ्वीनारायण शाहले ५ वटा कम्पनी स्थापना गरेका थिए।

श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए। पछि यीमध्ये केहीको नाम परिवर्तन भएको छ। गोरख नामका अरु स्थापना भएपछि यसलाई पुरानो गोरख भन्न थालिएको छ।

बर्दवाणी कम्पनी पनि जंगबहादुरको पालामा बर्दबहादुर कम्पनीमा परिवर्तन भयो।

Tags :

प्रकाशित: २४ माघ २०७९, मंगलवार ०६:३४