रावलले विश्वासको मत नपाउने भएपछि सुदुरपश्चिम प्रदेशसभा बैठक स्थगित



काठमाडौं। सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रदेशसभाको प्रथम अभिवेशनको सातौं बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी दिए।

उनले सभामुखको आदेशानुसार बिहीबार १ बजे प्रदेशसभा बैठक बस्ने पनि बताए। मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने अवस्था देखिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको हो।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबारसम्म विश्वासको मत नलिए स्वतः सरकार ढल्ने छ। रावल पुस २७ मा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेर नेकपा एमाले संसदीय दलको नेता चुनिएका रावललाई माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थन छ।

तर, सरकार गठनमा सघाएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावल संकटमा परेका छन्। नागरिक उन्मुक्ति पार्टीले माग सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन्।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित सत्ता बाहिर २४ सांसद छन्।

नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले विश्वासको मत नदिए मुख्यमन्त्री रावल अल्पमतमा परेर संविधानको धारा १६८ (३) अनुसार मन्त्रिपरिषद् गठन हुने देखिएको छ। जसअनुसार राजनीतिक समीकरण यथावस्थामा रहे कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने निश्चित छ।     

Tags :

प्रकाशित: २५ माघ २०७९, बुधबार १२:३३