काठमाडौं। टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सहयोग गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीले भने, ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दु:खमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ।’
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए।
बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।
प्रकाशित: २५ माघ २०७९, बुधबार १६:२०