काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन्। तर उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि रावलको मुख्यमन्त्री पद आजै जाने गलभग निश्चित भएको हो।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनाका राजबन्दीलाई रिहा गर्नुपर्ने माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने निर्णय भएको बताइन्। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य सात जना छन्।
यस्तो छ संवैधानिक व्यवस्था
नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको साथ पाएर नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका रावलले विश्वासको मत पाउन सकस भएको छ।
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि अल्पमतमा परेको सरकार विश्वासको मत नपाएपछि ढल्ने छ।
विश्वासको मत नपाएर सरकार ढलेमा सुदूरपश्चिम प्रदेश सभामा बहुमत सदस्य संख्या रहेको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता कुलानन्द उपाध्यायले बताए।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरि बनेको सरकारले विश्वासको मत नपाएको खण्डमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य संख्या भएको संसदस्य दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
यो व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी सदस्य संख्या रहेको नेपाली कांग्रेसको नेतृत्वका सरकार बन्ने प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता उपाध्यायले बताए।
उनका अनुसार यसरी बनेको सरकारको मुख्यमन्त्रीले पनि नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
उक्त सरकारले पनि विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।
यसरी नियक्त मुख्यमन्त्रीले पनि नियुक्त भएको मुख्यमन्त्रीले पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। यदि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महिना भित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था छ।
सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ र स्वतन्त्र १ गरि ५३ प्रदेश सभा सदस्य छन्।
प्रकाशित: २६ माघ २०७९, बिहीबार ०८:५९