काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी छिन्।
काठमाडौंमा रहेका पार्टीका सांसदहरुसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले कसैसामु आत्मसमर्पण नगर्ने बताएकी हुन्।
‘हार्नेहरुले हो आत्मसमर्पण गर्ने। योद्धाहरु त सहिद भएर मर्छन्,’ श्रेष्ठले लेखेकी छन्, ‘तर, परिचय मर्न दिँदैनन्।’
सबैको चाहना मुलुक समृद्धिमा पुग्ने चाहना हुने भए पनि थिचोमिचोले मुलुक ओरालोतिर लाग्ने उनको भनाइ छ।
‘आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालो तिर लाग्छ,’ अध्यक्ष श्रेष्ठले लेखेकी छन्।
उनले देश मागेर आफूहरुले विद्रोह नगरेको पनि प्रष्ट्याएकी छिन्। ‘देश मागेर विद्रोह हाम्रो माग होइन,’ श्रेष्ठले लेखेकी छन्, ‘मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो। हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ।’
नागरिक उन्मुक्तिका ७ जना प्रदेश सांसद संघीय राजधानी काठमाडौंमा छन्। मंगलबार धनगढीबाट गएकाउनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।
प्रकाशित: २६ माघ २०७९, बिहीबार १२:४०