काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।
मुख्यमन्त्री नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन्।
विश्वासको मत पाउन नसकेपछि रावलले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। सम्बन्धित समाचार सुदूरपश्चिम सरकारमा कांग्रेसको कम्ब्याक
प्रकाशित: २६ माघ २०७९, बिहीबार १९:४४