काठमाडौं। शुक्रबार राष्ट्पति विद्यादेवी भण्डारीको सवारीका बेला हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका डाक्टरलाई कुटेको छ।
अस्पतालको नियमित ड्युटीको अपरेसनपश्चात् निस्कने क्रममा नेपाल प्रहरीले परियचपत्र खोसी हातपात गर्दा डा. जनिथलाल सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो।
कोइरालाका अनुसार निज चिकित्सकको हाल ट्रमा सेन्टरको आईसीयुमा उपचार भइरहेको छ।
चिकित्सकहरु घटनाको विरोधमा उत्रिएका छन्। अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलाई हातपात गर्ने प्रत्यक्ष एवं अप्रत्यक्ष संलग्न प्रहरी कर्मचारीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको छ।
अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ममता भट्टराई कोइरालाले शुक्रबार विज्ञप्ति निकालेर उक्त घटनाको घोर भर्त्सना गर्दै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’को व्यवस्थाअनुसार कानुनी कारबाही गरिनुपर्ने बताइन्।
त्यसैगरी, नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीबाटै गरिएको त्यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सनायोग्य गतिविधिप्रति निन्दा व्यक्त गरेर दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ।
संघले २४ घण्टाभित्र दोषमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ।
प्रकाशित: २८ माघ २०७९, शनिबार ०८:५९