काठमाडौं। प्रहरीले डाक्टर कुटेको विरोधमा आज आइतबार देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् ।
आफ्ना आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंह लगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो।
लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्ने जस्ता कार्य न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ ।
सरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ ।
यस कदमबाट नागरिकलाई पर्न गरेको अप्ठेरोप्रति क्षमा माग्दै चिकित्सक संघले यो अवस्थाको जिम्मेवार सरकार नै भएको पनि दाबी गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला बाटोमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई कुटेको थियो।
प्रकाशित: २९ माघ २०७९, आईतवार ०८:०१