उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा के भयो छलफल ?



काठमाडौं। सत्ता गठबन्धन दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार पनि बस्यो। तर, निर्णय केही भएन।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन पुनः आग्रह गर्ने बारेमा सामान्य छलफल भएको उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए।

संयन्त्र गठन भएपछि बसेको यो तेस्रो बैठक हो। सरकार सञ्चालनमा सुझाव दिन भन्दै गठन गरिएको संयन्त्रमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन,जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ छन्।

उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली छन्।

बैठकमा संयोजक ओली, प्रधानमन्त्री प्रचण्ड, राप्रपा अध्यक्ष लिङदेन र रास्वपा सभापति लामिछाने सहभागी रहे।

बैठकमा मुख्यगरी रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, फागुन २५ को राष्ट्रपति निर्वाचन र सरकारका कामहरूबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि, शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्। आज पनि यी तीनवटै दल संयन्त्रको बैठकमा सहभागी नभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Tags :

प्रकाशित: २९ माघ २०७९, आईतवार १३:५२