रेशम चौधरीलाई रिहा गर्न जरुरी छ : माधव नेपाल



धनगढी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले रेशन चौधरीको मुद्दामा सरकार स्पष्ट हुनुपर्ने बताए।

अध्यक्ष नेपालले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे।

रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरूका मुद्दा, कतिपय आफ्नै पार्टीका मुद्दा मामलालगायत राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाई छिटो टुंगो लगाउन आवश्यक रेहको उनले जानकारी दिए।

उनले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताए। ‘अहिलेको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपतिका लागि साझा व्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुन्छ’, अध्यक्ष नेपालले भने , सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले सबैलाई समेटेर अघि बढ्नुपर्ने बताउँदै यस सरकारले विश्वासको मत प्राप्त गर्ने उल्लेख गरे।

नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल कैलाली आइपुगेका हुन् । आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ।

Tags :

प्रकाशित: २९ माघ २०७९, आईतवार १५:१३