भारतीय विदेशसचिव क्वात्रा आज नेपाल आइपुग्दै, तत्कालै उच्चस्तरीय भेटवार्ता थाल्ने



काठमाडौं। भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा आज काठमाडौं आइपुग्ने भएका हुन्।

भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान ९ बजे काठमाडौं उत्रने कार्यक्रम छ। विमानस्थलमा उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

बिहान ११ बजे होटल याक एन्ड यतिमा हुने भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ। नेपालले वार्ताका लागि आग्रह गरे पनि भारतले कुरै सुन्न चाहेको छैन। तीन वर्षअघि भारतले नेपाली भूमि कालापानी समेटेर राजनीतिक नक्सा बनाएपछि जवाफमा नेपालले पनि लिम्पियाधुरा समेटेर नक्सा बनायो। त्यसयता सीमा विवादबारे वार्ता गर्न नेपालले राखिरहेको प्रस्ताव भारतले अस्वीकार गरिरहेको छ।

भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै गर्ने भारत भ्रमणबारे पनि कुराकानी हुने बताइएको छ। प्रचण्डलाई उनले नेपाल भ्रमणको निम्ता दिने बताइएको छ।

Tags :

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार ०८:५४