काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनमा उत्रिएका आफन्तहरूले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।
आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा बसको ठकरबाट जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो।
आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन्।
आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।
रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिइन् । बा.४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर, प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका अनुसार बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएकोले बताए।
सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए । उनीहरू सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिएका हुन् ।
फरार रहेका बस चालकको खोजी कार्य भइरहेको डीएसपी शाहीले बताए।
प्रकाशित: १ फाल्गुन २०७९, सोमबार १३:१२