सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छ : कार्की



काठमाडौं। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन्।

शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन्।

उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको बताए।

उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन्।

उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा सङ्कलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन्।

पूर्व प्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेल सम्म सामाजिक उत्थान हुन नसक्ने बताइन्।

उनले नागरिकलाई गाँस, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरू एउटा कुर्सीको लागि भिडेर बसिरहेको बताइन्। उनले सरकारमा बस्नै सबै व्यापारीहरू रहेको उल्लेख गरिन्।

Tags :

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार ११:०१