एकदिवसीय क्रिकेट सिरिजमा स्कटल्यान्डमाथि नेपालको जित



काठमाडौं। विश्वकप क्रिकेट लिग-२ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ।

शुक्रबार कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको हो।

२७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ८५ र कुशल मल्लले ८१ रन बनाए। ४६.४ ओभरमा पाएको फ्रि–हिटमा सोमपालले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए। सोमपाल २४ रनमा अविजित रहे।

दीपेन्द्रले ७० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशलले भने ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

एकदिवसीयमा यो कुशलको दोस्रो अर्धशतक हो। सन् २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्धको डेब्यु खेलमा कुशलले पहिलो अर्धशतक प्रहार गरेका थिए।

छैटौँ विकेटको लागि कुशल र दीपेन्द्रले ९६ बलमा १०० रनको साभेदारी पूरा गरे। गुल्सन झाले भने १३ रनको योगदान गरे।
दोस्रो ओभरमा कुशल भूर्तेल १६ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएपछि नेपाल केही दबाबमा आएको थियो।

आरिफ शेख ९, कप्तान रोहित पौडेल ६ र सन्दीप जोरा ५ रनमा आउट हुँदा नेपाललाई लक्ष्य पछ्याउन निकै संघर्ष गर्नुपर्ने देखिएको थियो।
स्कटल्यान्डका लागि क्रिश सोल र मार्क वाटले ३–३ तथा माइकल लिस्कले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको हो।

स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित १०७ र ज्याक जार्विसले २६ रन जोडे।

७९ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै माइकलले शतक पूरा गरे। माइकलको एकदिवसीयमा यो पहिलो अर्धशतक हो ।
नेपालको लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भूर्तेल,सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

Tags :

प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार १६:५४