काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि वचन दिइसकेको कांग्रेसका नेताहरूले दाबी गरेका छन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस राष्ट्रपति पाउनेमा ढुक्कप्राय: हुँदै गएको छ।
यो दाबी शुक्रबारमात्रै कांग्रेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दोहोर्याएका थिए। उनले भनेका छन्, ‘कांग्रेसकै उम्मेदवार राष्ट्रपतिको उम्मेदवार हुन्छ, र उही राष्ट्रपति बन्छ।’
कांग्रेसका एक नेताले भनेका छन्, ‘प्रधानमन्त्रीजीले राष्ट्रपतिका लागि बचन दिइसक्नुभएको छ। यसमा कांग्रेस ढुक्क छ।’
प्रधानमन्त्रीले कांग्रेसबाटै राष्ट्रपति बन्ने कुरामा सुनिश्चितता दिनुभएको हो ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘राष्ट्रिय सहमतिमार्फत टुङ्गो लगाउने भन्नुभएको छ, उहाँले बचन दिइसक्नुभएको छ मैले यत्ति भनेँ।’
उसो त कांग्रेसले राष्ट्रपति पाए प्रधानमन्त्रीमा पाँचै वर्ष प्रचण्डलाई नै समर्थन गर्ने सुनिश्चितता प्रदान गरेको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनेछ।’
यसलाई प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रका नेताहरूले पनि स्वाभाविक र सामान्यरूपमा लिएको प्रतिक्रिया दिएका छन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले कांग्रेसको यो अभिव्यक्तिले दुई दलबीच थप छलफलको वातावरण बनेको बताएका छन्। शर्माले भनेका छन्, ‘यसले दुई दलबीच तत्विषयमा छलफलका लागि थप वातावरण बनेको छ।’
माओवादी केन्द्रका अर्का एक पदाधिकारीको भनाइ छ- सम्भावना हुँदैन भनेर भन्न सकिँदैन ।
कांग्रेस-माओवादी केन्द्रबीचको निकटताले सत्ता साझेदार दल नेकपा एमाले भने सशंकित बनेको छ। यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डमाथि राजनीतिक निगरानी बढाएका छन्।
उनले कहिले बालुवाटार पुगेर त कहिले आफ्नै निवास बालकोट बोलाएर प्रधानमन्त्री प्रचण्डसँग वार्ता गरिरहेका छन्।
प्रकाशित: ६ फाल्गुन २०७९, शनिबार १०:५१