ओलीले भने- ज्ञानेन्द्र शाहसँग के मुद्दामा सहकार्य गर्ने ?

एमालेले फागुन १३ मा राष्ट्रपतिको उम्मेद्वार सार्वजनिक गर्ने



काठमाडौं। नेकपा एमालेले आफ्नो तर्फबाट फागुन १३ मा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

फागुन २५ मा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको फागुन १४ मा मनोनयन दर्ताको समय तोकिएको छ। सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन्।

एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ब्यक्त गरेको प्रस्तावप्रति ओलीले कटाक्ष गरेका छन्। उनले पूर्वराजासँग के आधारमा सहकार्य गर्ने भन्दै कटाक्ष गरेका हुन् ।

ओलीलाई विमानस्थलमा सञ्चारकर्मीहरुले पूर्व राजाले ब्यक्त गरेको सन्देशबारे जिज्ञासा राख्दा उनले पूर्व राजालाई अहिलेपनि राजा नै भएको जस्तो लागेको टिप्पणी गरे। उनले भने, ‘उहाँ ज्ञानेन्द्रजीलाई अहिले पनि पहिल्यैकै जस्तै लागेको होला। दुई चार जना मान्छे देख्यो भने उहाँलाई पहिल्यैकै जोश आउँछ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै देशको वर्तमान अवस्था संकटपूर्ण रहेको भन्दै दलहरुसँग सहकार्य गर्न तयार रहेको बताएका थिए।

Tags :

प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार १५:११