काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।
सर्वदलीय बैठक राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रपतिका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
त्यो भन्दा अघि नै दलहरुबीच उम्मेदवारबारे साझा धारणा बनाउन प्रधानमन्त्रीले तयारी गरेका हुन्।
‘१०-११ गते सर्वदलीय बैठक बोलाउने तयारी छ,’ स्रोतले भन्यो, ‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति जुटाउने प्रयास हुन्छ।’
सत्ताको नेतृत्व गरेको नेकपा माओवादीले राष्ट्रपतिमा सबै दलको मान्य हुने व्यक्तिलाई अघि सार्नुपर्ने बताइरहेको छ।
तर, प्रचण्डलाई प्रधानमन्त्री बनाएको नेकपा एमालेले राष्ट्रपति आफ्नै दलबाट बनाउने अडान लिइरहेको छ।
यसविषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच २३ पटक छलफल भइसकेको छ। तर, दुईजनाबीच राष्ट्रपति उठाउने विषयमै सैद्धान्तिक सहमति जुटेको छैन।
नेपाली कांग्रेसले राष्ट्रपतिका लागि पहल गरिरहेको छ। प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका विभिन्न तहका नेताहरुले भेटेर मिलेर जाने प्रस्ताव गरिरहेका छन्।
प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार १८:४०