कांग्रेस नेताहरूको आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। राष्ट्रपतिको निर्वाचनमा आफूलाई सघाउन आग्रह गर्दै नेताहरू प्रधानमन्त्रीसँग भेटेका हुन्। प्रधानमन्त्रीसँग छलफल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए।

कांग्रेस नेताहरूको आग्रहमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको स्रोतले बतायो। प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन्। माओवादीले राष्ट्रपतिबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाएको छ।

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने अडान राख्दै छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रचण्डको भाका फेरिरहेका छन् ।

एमालेलाई राष्ट्रपति दिने पूर्वसहमतिबाट पछि हट्दै उनले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् । उनको भनाइको भित्री अभिष्ट चाहिँ एमालेलाई नदिने भन्ने नै हो । कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसक्दा गठबन्धनमा धाँजा फाटेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग समानान्तर संवादमा छन् । एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार ०७:२०