प्रहरी महानिरीक्षकको दौडमा रहेका डीआईजी सिंहले किन दिदैछन् राजीनामा?



काठमाडौ । डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिने तयारी गरेका सिंहको पारिवारिक स्रोतले जनाएको छ। राजीनामा दिनुअघि उनले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई जानकारी गराइसकेका छन्। त्यसअघि उनले कानुनी परामर्श समेत गरेका थिए। उनलाई राजीनामा दिँदा नै उचित हुने सल्लाह पछि बुधबार राजीनामा दिन लागेका हुन्।

सिंहको जन्म मिति फरक फरक रहेको लगायतका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालय र प्रहरी कितावखानामा सोधेको थियो। किताव खानाले बुधबार अशोक सिंहको जन्ममिति खुल्ने कागजात पठाउने तयारी गरेको छ। तर ती कागजात जानुअघि नै सिंह भने राजीनामा दिने तयारीमा लागेका हुन्। जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन्। उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो। नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए।

तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो। २०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए। तर उनको सिटरोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार २०:१९