काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ।
आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेका छन्।
आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन्।
फागुन १३ मा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराईसकेको छ।
कति छन् मतदाता ?
अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन्। तर, केन्द्र र प्रदेशका सांसदले दिएको मत भने बराबरी हुने छैन।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा सरकारले संसदमा पठाउन लागेको विधेयकमा दुई तहका सांसदहरुको मतभार निर्धारण गरिएको छ।
मतभार अनुसार संघीय संसदको एकजना सांसदको दिएको एक मतलाई ७९ मतका रुपमा गणना गरिनेछ। प्रदेश सभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिनेछ।
कानुन मन्त्रालयबाट हाल मन्त्रिपरिषदमा पुगेको विधेयकको मस्यौदामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मत ५२ हजार ७ सय ८६ निर्धारण गरिएको छ।
यो हिसाब प्रदेश संसद र संघीय संसदका कुल सांसदहरुको संख्या र उनीहरुको मतभार गणना गरेर निकालिएको हो।
कसरी खस्छ ५२ हजार ७८६ मत ?
नयाँ संविधानअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ सदस्य गरी कुल ३३४ संघीय संसदका सदस्य रहनेछन्।
प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट राष्ट्रपति वा उपराष्ट्रपतिलाई खस्ने कुल मत २६ हजार ३ सय ८६ हुन्छ।
त्यस्तै प्रदेश सभा सदस्यको मतभार ४८ ले कुल सदस्य संख्या ५५० गुणन गर्दा २६ हजार ४ सय हुन आउँछ।
यसरी केन्द्रको २६ हजार ३ सय ८६ र प्रदेशको २६ हजार ४ सय मत जोड्दा ५२ हजार ७ सय ८६ मत पुग्छ। यही मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गणना हुने मत हो।
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार ०८:४८