काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
आफ्नो पार्टीका नेताहरू लिएर ठाकुर बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेका थिए।
त्यसक्रममा ठाकुरले देउवालाई राष्ट्रपतिमा समर्थन गर्नुपर्यो भनेर प्रस्ताव राखेका थिए। जवाफमा देउवाले ‘तपाईं उपयुक्त पात्र हो’ भनेका थिए।
देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले भने, ‘महन्थजी, तपाईं उपयुक्त पात्र हो। तपाईंको प्रस्तावका बारेमा पार्टीमा छलफल गर्छौँ। हामीले आधिकारिकरूपमा कसैलाई उम्मेदवार घोषणा गरिसकेका छैनौँ। फेरि तपाईं-हामी एलाइन्समा छौँ।’
भण्डारीले राष्ट्रिय सहमति जुटाउँदा ठाकुरमाथि नै जुट्नुपर्ने जिकिरसमेत गरेका छन् । ‘उहाँ शालिन र भद्र व्यक्तित्व हुनुहुन्छ, विगतका योगदान पनि कम छैन । उहाँमाथि नै राष्ट्रिय सहमति जुट्यो भने त्यो राम्रो हुन्छ,’ उनले भने ।
लोसपा नेताहरूले यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्। दुवै नेताहरूले सकारात्मक प्रतिक्रिया दिएको नेताहरूले बताएका छन्।
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १२:०७