डीआईजी अशोक सिंहले दिए राजीनामा



काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्।

बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा बुझाएका हुन्।

उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिएका हुन्। उनले केहीबेरअघि राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ।

राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए।

कानुनी परामर्शसमेत गरेका उनलाई कानुनविदले मुद्दा मामिलामा लाग्नुभन्दा राजीनामा दिनु उचित हुने राय दिएपछि यो निर्णय लिएका हुन्।

सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ।

अख्तियारले जन्म मितिबारे प्रहरी प्रधान कार्यालयलाई सोधेको थियो। प्रहरी कितावखानामा रहेको रेकर्डमा उनको नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको मिति डेढवर्ष बढी फरक परेको पाइएको छ।

जन्म मिति फरक परे पनि सिंहले जन्म मितिमा कीर्ते भने गरेका होइनन्। उनको नागरिकता २०४२ जेठ २२ गते जारी भएको थियो।

नागरिकता प्रमाणपत्र जारी हुँदा उनी १८ वर्ष पूरा भएका थिए। तर नागरिकतामा वर्ष मात्रै उल्लेख भएका कारण उनको महिना र गते जारी भएको मिति नै कायम भएको हो।

२०५० मंसिरमा उनले आवेदन दिएका थिए। आवेदन दिँदा नै उनी २६ वर्ष पूरा भइसकेका थिए। तर उनको सिट रोलमा जन्म मिति २०२५ पुस १६ गते उल्लेख छ।

यो जन्म मितिअनुसार उनी २५ वर्ष पुग्न एक महिना बाँकी थियो। प्रहरी नियमावली २०७१ मा जन्म मितिको बारेमा उल्लेख छ।

सिंहको नागरिकतामा १८ वर्ष उमेर पूरा भएको मात्रै उल्लेख भएकाले उनको जन्म मिति २०२४ जेठ २२ गते कायम भएको हो।

तर अर्को प्रमाण पत्रमा पूरा जन्म मिति भएको अवस्थामा त्यसलाई आधार मान्ने उल्लेख छ।

यस्तो अवस्थामा जन्म मितिको अन्तर एक वर्षभित्रको हुनु पर्नेछ। एक वर्षभन्दा बढीको उमेर अन्तर भएमा भने जुनमा उमेर बढी छ सोहीलाई आधार मान्ने उल्लेख छ।

सिंहको नागरिकता अनुसार उनी डीआईजी बढुवा नै नहुनु पर्ने हो। एसपी र एसएसपीको उमेर हद ५५ वर्षे छ। एसएसपी हुँदै उनी ५६ वर्ष पुगिसकेका थिए।

नागरिकता अनुसार जेठ २२ गते ५५ वर्ष पूरा भइसकेका सिंह गत असारमा डीआईजीमा बढुवा भएका थिए।

प्रहरी नियमावली अनुसार उनलाई बर्खास्त गर्न सक्ने भएकाले त्यसअघि नै सिंहले राजीनामा दिएका हुन्।

Tags :

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार १४:४२