पुरानो पाँच दलीय गठबन्धनको राष्ट्रपतिको उम्मेदवार रामचन्द्रलाई बनाउने तयारी



काठमाडौ । मुलुकको राजनीतिले नाटकीय मोड लिएन भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालीन पाँच दलीय गठबन्धनका तर्फबाट साझा राष्ट्रपतिको उम्मेदवार बन्ने देखिएको छ। राष्ट्रपतिका लागि मनोनयन दर्ताको मिति नजिकिएसँगै बुधबार बिहानबाट सुरु भएका राजनीतिक छलफलले पुस १० गते भत्किएको गठबन्धनका तर्फबाट पौडेल साझा उम्मेदवार बन्ने वातावरण बनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बुधबार बेलुकी नेकपा एकीकृत समाजवादीको नेतृत्वसँग भएको छलफलमा पुरानो ५ दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति निर्वाचनमा जाने प्रारम्भीक समझदारी बनेको नेताहरूले बताएका छन्। बैठकमा सहभागी एकीकृत समाजवादीका एक नेताले दुई दलका बीचमा नेकपा माओवादी केन्द्रलाई सहमतिमा ल्याएर गत पुस १० गते भत्किएको तत्कालीन गठबन्धन ब्युँताउँदै राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताए।

ती नेताले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेसम्मको प्रारम्भीक समझदारी बनेको जानकारी दिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भए कांग्रेसका वरिष्ठ नेता पौडेल नै राष्ट्रपतिका साझा उम्मेदवार बन्ने पनि दाबी गरे।

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार ०६:५२