मुस्ताङ तारा एयर दुर्घटना : चालक दलमा त्रुटि भेटिएको प्रतिवेदन पेश



काठमाडौं। मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुुटि देखिएको हो।

विसं २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर ९एन–एइटीरडीएचसी ६-३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो।

जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो

प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो।

जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ।

टीएडब्लुएस प्रणाली बन्द नगरी जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो।

जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो।

मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन्।

चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा भनिएको छ।

आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ।

उक्त प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायत सम्बन्धी मुलुक र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tags :

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार ०८:४२