काठमाडौं। राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकले भावी राष्ट्रपतिको उम्मेदवारमा कसलाई सहयोग गर्नै वा कसलाई प्रस्ताव गर्ने भन्ने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्न सक्ने बुझिएको छ।
तर, नाम भने बैठकबाट सार्वजनिक नगरिने बताइएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउनेमा कांग्रेसका नेता एकमत देखिएको नेताहरूको दाबी छ।
नेपाली कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपति चुनावका क्रममा पाँच दलीय गठबन्धन ब्युँताउन सक्रियता तीव्र पारिरहँदा कांग्रेसको यो बैठकलाई चासोका साथ हेरिएको छ।
किनकि यी दुई दलले यसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि मनाउन प्रयास गरिरहेका छन्।
कांग्रेस र एकीकृत समाजवादीका नेताले देउवा निवास धुम्बाराहीमा बैठक गरेर पुरानो गठबन्धन ब्युँताउने समझदारी गरेका थिए।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार ०८:५०