बाबुको हत्यापछि आत्महत्या देखाउन शव झुण्ड्याइयो



काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका- १० मा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन्। हत्या लुकाउन शव झुण्ड्याएर आत्महत्या देखाउनसमेत प्रयास भएको छ ।

शिवराज–१० शीतलापुरका ३० वर्षीय मगनीराम पासीले आफ्नै बाबु ६४ वर्षीय मगरे पासीको हत्या गरेका हुन्। बुधबार बिहान मगरे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। तर, प्रहरी अनुसन्धानले हत्या भएको आशंका गरी सोधपुछ गर्दा छोराले नै हत्यापछि झुण्ड्याएको पाइएको वडा प्रहरी कार्यालय (चन्द्रौटा)ले जनाएको छ ।

घटना शंकास्पद देखेपछि प्रहरीले स्थानीयसँग समेत सोधपुछ गरेको थियो । सुरुमा सबैले आत्महत्याकै कुरा गरे पनि प्रहरीले घटनास्थल र शवको प्रकृति हेर्दा शंकास्पद देखेर थप अनुसन्धान सुरु गरेको थियो।

प्रहरी अनुसन्धानकै क्रममा छोरा मगनीरामले आफूले नै बाबुको हत्या गरेको स्वीकार गरेको वडा प्रहरी कार्यालय प्रमुख कपिलजंग शाहीले जानकारी दिए।

‘शंका लागेपछी छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रारम्भिक अनुसन्धानमै उसले स्विकार गरिसकेको छ’ उनले भने–‘शुरुमा परिवारका सदस्यले नै आत्महत्या हो भने तर,सोधपुछ गर्दै जाँदा छोराबाटै हत्या भएको स्वीकार भयो । पक्राउ परेका छोरालाई म्यादथप गरी थप अनुसन्धान गर्दैछौं’

प्रारम्भिक अनुसन्धान र आरोपीको बयानमा मंगलबार बिहान आफ्नी श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आवेगमा आई आफूले बुबाको हत्या गरेको मगनीरामले बताएका छन्।

कुटपिट र घाँटी थिचेर हत्या गरेपछि आत्महत्या देखाउन शवलाई डोरीमा बाँधेर झुन्ड्याएको मगनीरामले स्विकारेका छन्।

मृतकको शरीरमा सामान्य चोटपटक पनि देखिएको प्रहरीले जनाएको छ। घटनामा अन्य कसैको संलग्नता वा सहयोग भए नभएको बारेमा समेत अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहीले बताए। घटना मंगलबार भए पनि प्रहरीलाई बुधबार बिहान मात्र सूचना पुगेको र लगत्तै घटनास्थलबाट प्रमाण संकलन र आरोपीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

Tags :

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार ११:०६