काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति दुख व्यक्त गरेका छन्।
हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय सही नभएको उनले बताए।
आज आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलीले सो टिप्पणी गरेका हुन् । उनले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताए ।
‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी अझै पनि छ जस्तो देखिन्छ केही मान्छेका क्रियाकलाप र व्यवहारमा,’ ओलीले भने ।
हिंसाको मानसिकता र हिंसाप्रति गर्वगर्ने प्रवित्तिप्रति उनले चिन्ता व्यक्त गरे ।
‘अहिलेकै सरकारले पनि हिंसा दिवसलार्ई राष्ट्रिय दिवस मनाउने दुखद निर्णय गर्यो र फेरि फेरि फेरि सार्वजनिक विदा दिन सरकारको क्यालेन्डरमा नै यसलाई राख्ने काम भयो। सरकारले आकश्मिकरुपमा त्यो किन गनुपरेको हो ? आफैंले हिंसा छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिनामण्डन गर्नुपर्यो ? मैले पनि बुझेको छैन । यसले सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्र लाग्छ ।’
ओलीले नेपाल हिंसाको पक्षमा हुन नसक्ने र परस्परमा लड्ने–लडाउने कुरा स्वीकार्न नसकिने बताए।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार १२:१३