तीन दलको बैठक बिनानिष्कर्ष टुंगियो



काठमाडौं। नयाँ राष्ट्रपतिका बारेमा छलफल गर्न बसेको तीन दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। भोलि कांग्रेससँग बसेर थप छलफल गर्ने भन्दै आजको बैठक सकिएको हो।

सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको आज बैठक बसेको थियो।

बैठकपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले राष्ट्रिय सहमतिका आधारमा माधव नेपाललाई राष्ट्रपति बनाउन आफ्नो पार्टीले प्रस्ताव राखेको बताए।

‘हामीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापक रुपमा छलफल गर्‍याैं । प्रधानमन्त्रीज्यूले भने जस्तै राष्ट्रिय सहमतिको उम्मेदवारका रुपमा हाम्रो अध्यक्षलाई प्रस्तावित गरेका छौं,’ ज्वालाले भने ।

तत्कालीन गठबन्धन ब्युँताउने सन्दर्भमा ठोस कुराकानी नभएको उनको भनाइ छ। तीन पार्टीहरुबीच चुनावअघि तयारी गरिएजस्तै वाम समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको ज्वालाले जानकारी दिए।

Tags :

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार २०:१०