राष्ट्रसंघीय महासभामा रुसको भर्त्सना गर्ने प्रस्ताव पारित, नेपालले पनि पक्षमा मत दियो



काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण गरेको आज एक वर्ष पूरा भएको छ।

युद्धको एक वर्ष पुगेको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनमाथि रुसले गरेको आक्रमणको भर्त्सना गरेको छ।

महासभाले विनाशर्त युक्रेनबाट रुसी सेना फिर्ता गर्न र सक्दो चाँडो शान्ति कायम गर्ने प्रस्तावलाई अत्यधिक मतका साथ पारित गरेको हो।

यो प्रस्तावको पक्षमा १४१ देशले मत दिएका छन्। नेपालले पनि यसको पक्षमा मत दिएको छ।

रुस, बेलारुस, उत्तर कोरिया, सिरिया लगायतका केही देशले मात्रै विपक्षमा मतदान गरे । चीन, भारत, इरान, दक्षिण अफ्रिका लगायतका ३२ देश भने तटस्थ बसेका थिए।

भियनामा रुसका प्रतिनिधिले युरोपेली निकायको संसदीय सत्रमा सम्बोधन गर्दा अधिकांश देशले बहिष्कार गरेका थिए।

२०२२ को फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण सुरु गरेका थिए । युद्धको १ वर्षभित्र दुवैतर्फ गरी करिब ७५ हजार सैनिकको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन्। तर, युद्ध अन्त्य हुने कुनै संकेत अहिलेसम्म देखिएको छैन।

Tags :

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार १३:०९