काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ।
पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका छन्।
चुनाब अघिको गठबन्धन ब्यूँताउन दलहरू छलफलमा जुटेपछि ओलीले प्रचण्डसँग निर्णायक छलफल थालेका हुन्।
यस्तै ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताए।
बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले भने, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन।’
पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो। तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा एमालेसँग दुरी बढाएर पुरानै गठबन्धनको पक्षमा उभिएका छन्।
प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार १४:५२