काठमाडौं। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगले फागुन २५ गतेका लागि निर्धारण गरेको निर्वाचनका लागि पौडेल र नेम्वाङले फरक–फरक समयमा संसद भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार दुवै जनाले पाँच–पाँच जनता प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन्।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो.अब्दुल खान छन्।
यस्तै, समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे रहेका छन्।
नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन्।
यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ।
वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको थियो।
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार १६:३२