ओलीको व्यंग्य-‘चिया खान जाने सबै भोट हुँदैन’



काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्। ओलीले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको समेत बताए । तर, दबाब कहाँबाट र कसले दिएको ? भन्नेचाहिँ ओलीले केही बताएनन्।

फागुन २५ मा एमाले उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने दाबी गर्दै अध्यक्ष ओलीले भने–‘प्रधानमन्त्रीले मलाई दबाब आइरहेको छ भन्नुभयो तर, पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा म विश्वस्त छु।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले अलिकति अफ्ठ्यारो पर्‍यो। मलाई के–के आईपर्‍यो, दबाब पर्‍यो भनिरहेको कुरालाई जोड दिँदै, तर सम्झौताअनुसार भोट हाल्ने वचन दिएको समेत बताए । उनले नयाँ आठ दलीय गठबन्धनलाई चियागफ मात्रै भएको समेत बताए ।

‘चिया पिउन जाने सबैले भोट दिन्छन र ?’ उनले प्रश्न गरे–‘कहाँ ८ दलको समर्थन थियो खै मलाई थाहा भएन र चिया खान बोलाए जति सबै भोट हुन्छ?’

नेकपा एमालेले पूर्वसभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । निर्वाचन कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्।

Tags :

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार १६:४०