प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा बैठकमा पठाउने



काठमाडौं। राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा नेपालको प्रतिनिधित्व नेकपा समावादीका नेता गोविन्द बन्दीले गर्ने भएका छन्।

परराष्ट्रमन्त्री बिमला राई पौड्यालको स्वीट्जल्यान्ड भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएपछि वन्दीले प्रतिनिधित्व गर्ने भएका हुन्।

तीन दिनअघि मन्त्रिपरिषद वैठकमा परराष्ट्रमन्त्री जेनेभा भ्रमणमा जाने प्रस्ताव आउँदा प्रधानमन्त्री प्रचण्डले एकजना वैदेशिक मामला विज्ञलाई पनि सहभागी गराउन निर्देशन दिएका थिए ।

पौड्यालले विज्ञको विषयमा जिज्ञासा राख्दा प्रचण्डले गोविन्द बन्दीको नाम लिएका थिए। पौड्यालले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेकी थिइन्।

जेनेभा भ्रमणका लागि पौडेलले आफ्नो सम्बोधनसहित सबै तयार सिध्याएकी थिइन्। लुगा प्याकसमेत गरेर एयरपोर्ट जाने तयारीमा रहेका बेला मुख्य सचिवले फोन गरेर उनलाई प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। ‘जेनेभा नजानु भन्ने प्रधानमन्त्रीको निर्देशन छ’ भनिएपछि पौड्याल रोकिएकी छन्।

मन्त्री रोकिएपछि उनीसँगै विज्ञका रुपमा जाने भनिएका बन्दी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गरेका छन्। स्रोतका अनुसार उनलाई नै नेपालको प्रतिनिधित्व गरेर सम्वोधन गर्न भनिएको छ।

उनले प्रधानमन्त्रीका सल्लाहकारका रुपमा वैठकमा भाग लिनेछन्। जबकी उनलाई त्यस्तो कुनै पनि नियुक्ति दिइएको थिएन। यसअघिको देउवा सरकारमा कानूनमन्त्री रहेका बन्दी अहिले कुनै पनि सार्वजनिक पदमा छैनन्। यद्यपि, ब्याक डेटमा सल्लाहकारको नियुक्ति दिएर पठाइएको हुन सक्ने स्रोत बताउँछ।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार ०७:५०