नेकपा एमालेले गर्यो सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय



काठमाडौं। नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

एमाले सचिवालयको बैठकले सत्ता गठबन्धनमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको निष्कर्ष निकाल्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

संघीय सरकारबाट पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए।

संघीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारका बारेमा आज कुनै निर्णय नभएको उनले बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डको कार्यशैलीबारे समीक्षा भएको थियो।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक लगाएपछि एमालेले आज सचिवालयको बैठक बोलाएको थियो।

यसअघि बसेको सचिवालय बैठकले राष्ट्रपतिको चुनावसम्म सरकार नछाड्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री प्रचण्डले मानवअधिकार परिषद्को बैठकमा आइतबार जेनेभा उड्नै लागेकी परराष्ट्र मन्त्रीलाई रोकेपछि एमाले आक्रोशित भएको हो।

एमाले समेतको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । तर प्रचण्डले एमालेसँगको गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा ८ दलको नयाँ गठबन्धन बनाएका छन्।

वर्तमान सरकारमा एमालेबाट ८ मन्त्री र २ राज्यमन्त्री सहभागी छन् । उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालयसहित सरकारमा एमालेको नेतृत्व गरेका थिए।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १३:३३