संघीय सरकार छाड्ने, प्रदेश सरकारमा टाँसिरहने



काठमाडौं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहयोग नगरेपछि नेकपा एमालेले संघीय सरकार छाड्ने निर्णय गरेको छ।

आजै बसेको सचिवालय बैठकले संघीय सरकार छाड्ने निर्णय गरेपनि प्रदेश सरकारको बारेमा तत्काल कुनै निर्णय लिएको छैन। यसअघि, सरकार छाडेको राप्रपाको पनि लाइन त्यही छ।

सोमबारको सचिवालय बैठकले समर्थन फिर्ता लिँदै सरकार छाड्ने र मन्त्रीको राजीनामा आजै बुझाउने भने पनि प्रदेश सरकारका विषयमा भने मौन बसेको छ। प्रदेशमा तत्काल माओवादी लगायतका दलहरूसँगको सहकार्य नतोड्ने र सरकार पनि नछोड्ने रणनीति एमालेको देखिन्छ।

आकस्मिक रूपमा संघीय सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको पार्टी सचिवालय बैठकले प्रदेश सरकारका विषयमा भने कुनै नयाँ निर्णय लिएन। यसको मतलब प्रदेश सरकारबारे पर्ख र हेरको अवस्थामा एमाले रहेको छ।

बैठकपछि प्रतिक्रियादिँदै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका विषयमा कुनै निर्णय नभएको बताइन्। एमालेबाट हाल प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लिला गिरी मुख्यमन्त्री छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीले भने विश्वासको मत नै नपाई सरकार छाड्नुपरेको थियो। एमाले सुदूरपश्चिम सरकारमा अहिले सहभागी छैन। मधेस प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश सरकारमा एमालेका मन्त्रीहरू छन्।

यसैगरी, राप्रपाले पनि केन्द्र सरकार र बागमती प्रदेश सरकार छाडेको छ। तर,प्रदेश १, गण्डकी र लुम्बिनी सरकारका मन्त्री यथावत् छन्।

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड विश्वासको मत लिएपछि पुर्ववत् सहमति अनुसार एमालेलाई राष्ट्रपति दिन अस्वीकार गर्दा पुरानै गठबन्धन व्यूँतिएको छ।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १६:०३