यू-१९ विश्वकप छनोट : हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालको तेस्रो जित



काठमाडौं। ओपनर आकाश त्रिपाठीको अर्धसतकको सहायताले हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले यू–१९ विश्वकप एसिया रिजन छनोटमा लगातार तेस्रो जित निकालेको छ।

दुबईकाे अजमनस्थित मालेक क्रिकेट मैदानमा हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा एक विकट गुमाउँदै पुरा गर्यो ।

नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रनको अविजित इनिङ खेले। अर्का ओपनर अर्जुन कुमाल १६ रनमा आउट हुँदा उत्तम रान्गु थापा मगर ३९ रनमा अविजित रहे।

यसअघि, ब्याटिङ गरेको हङकङका पर्थ भागवतले सर्वाधिक ३६ रन बनाए, मोहमद अलियान जाहिर २९ रन बनाएर आउट हुँदा आहान त्रिवेधी ११ रनमा अविजित रहे । त्योबाहेक हङकङकका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङमा हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिए । आकाश चन्द ले ८.३ ओभरमा ४३ रन खर्चिएर २ विकेट लिँदा सुबास भण्डारीले १० ओभरमा तीन मेडनसहित १० रन खर्चिएर दुई विकेट लिए । उप कप्तान दिपेश कँडेलले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराउँदै लगातार दोस्रो जित निकालेको थियो ।

हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले चौथो खेल मङ्गलवार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ । सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४ मा श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकप खेल्नेछ ।

Tags :

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार १६:२८