राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस सरकारमा सहभागी हुने



काठमाडौ । सत्ता साझेदार नेकपा एमालेलाई सात दलीय सत्ता गठबन्धनबाट बाहिरिएपछि नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनअघि नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै कांग्रेस फागुन २५ हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जान तयार भएको हो।

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाको ठूलो दल कांग्रेससहित अरु ६ दलसँग गठबन्धन गरेपछि चिढिएका एमाले र राप्रपाले सरकार छाडिसकेका छन्। परराष्ट्रमन्त्री डा।विमला राई पौडेललाई संयुक्त राष्ट्रसंघको महासभाका लागि जेनेभा जानबाट प्रचण्डले रोकेपछि अपमान भएको महसुस गरेर एमालेले सोमबार सचिवालय बैठकमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

यस्तै सत्ता साझेदार राप्रपाले पनि शनिबार मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड पुस ११ गते प्रधानमन्त्री बनेका थिए। एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि अब सरकार बनाउनासाथ दिएका सांसदको संख्या ७७ मा झरेको छ। प्रधानमन्त्रीका लागि समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्ने छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार ०६:१६