काठमाडौं। फागुन २५ मा हुने राष्ट्रपति र चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी भोलि (बुधबार) देखि आचारसंहिता लागू हुने भएको छ।
राष्ट्रपति एवं उपराष्ट्रपति निर्वाचनको लागि खोलिएको निर्वाचन कार्यालयले साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि बुधबारदेखि ५ चैतसम्म आचारसंहिता लागू हुनेछ। राष्ट्रपतिमा रामचन्द्र पौडल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनेछ।
यसैगरी, निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले गर्ने चुनावी खर्चको सीमासमेत तोकिदिएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमासम्बन्धी व्यवस्था छ। त्यस व्यवस्थाअनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन्।
तोकिएको सीमाअनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तर्क्रियामा १-१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार-प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०-२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ।
चुनावको नतिजा घोषणा भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्छ।
प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार १२:५४